काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले घरेलु मैदानमा भारतलाई हराउने मौका रहेको बताएकी छन् ।
एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेपछि कप्तान अरुणाले भारतलाई हराउने मौका रहेको बताएका हुन् ।
मंगलबार बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल पुगेको हो ।
अब नेपालले बुधबार भारतसँग खेल्नेछ । भारतलाई हराएमा नेपाल समूह विजेता बन्नेछ ।
'हामीलाई भारतलाई हराउन अर्को मौका छ । इतिहास रच्ने मौका छ । सागमा बेस्ट अफ फाइभमा हार्न पुग्यौं । यसैमा ध्यान केन्द्रित छ । शारीरिक रुपमा भारत भन्दा कमजोर छौँ । ब्लक भएन भने पनि डिफेन्समा राम्रो गर्नेछौं,’ कप्तान अरुणाले खेलपछि भनिन् ।
१३ औं सागमा भारतसँग पराजित भएपछि नेपाल स्वर्ण पदक जित्नबाट बन्चित भएको थियो ।
यस्तै अरुणाले बंगलादेशविरुद्ध सहज जित निकालेको बताईन् । उनले भारतविरुद्ध जित निकाल्दै समूह विजेता बन्ने योजना रहेको बताईन् ।
'हामीले सहज जित निकाल्यौं । सेमिफाइनल पुग्दा खुसी र एक्साइटेट छु,' अरुणाले थपिन, 'भारतलाई हराउँदै समूह विजेताका रुपमा अघि बढ्ने योजना छ ।'