काठमाडौं । भारतले नेपालमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै भारतले लगातार दोस्रो जित दर्ता गरेको हो ।
यस जितसँगै भारतको सेमिफाइनल सम्भाबना बलियो भएको छ । आज नै हुने नेपाल र बंगलादेशबीचको खेलमा नेपाल विजयी भएमा भारत र नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतियोगिताको बलियो टोलीका रुपमा रहेको भारतले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो ।
भारतले किर्गिस्तानलाई २५-१७,२५-८ र २५-८ ले हराएको हो ।
जितसँगै समूह 'ए' को भारतले ६ अंक सहित शीर्ष स्थानमा रहेको छ । भारतले पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।
किर्गिस्तानको भने यो लगातार दोस्रो हार हो । लगातार दोस्रो हारसँगै किर्गिस्तानको सेमिफाइनल पुग्ने सम्भावना लगभग समाप्त भएको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा किर्गिस्तान आयोजक नेपालसँग पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत मंगलबार नै नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बंगलादेशलाई पराजित गरि एक खेल अगावै सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो तीन बजे हुनेछ ।
यस्तै मंगलबार श्रीलंका र काजकिस्तान तथा उज्वेकिस्तान र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।