काठमाडौं । नेपालले घरेलु भूमिमा सुरु एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।
घरेलु समर्थकको साथ पाएको नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको हो ।
नेपालले किर्गिस्तानलाई २५-११,२५-१९ र २५-११ ले हराएको हो ।
जितसँगै समूह 'ए' को नेपालले ३ अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।
प्रतियोगिता अन्तर्गत नै सोमबार भारत र उज्वेकिस्तानले जित निकालेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको हो ।
उज्वेकिस्तानले श्रीलंकालाई २७-२५, २५-१५ र २५-१३ ले हराएको हो ।
भारतले बंगलादेशलाई २५-३, २५-९ र २५-६ को सेटमा हराएको हो ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।
राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।