काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार आर्मीले फ्रेन्ड्स क्लबलाई ३-० गोल अन्तरले हराएको हो ।
आर्मीको जितमा जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
७५ औं मिनेटमा नवयुगले पेनाल्टीमार्फत गोल गर्दा आर्मी २-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा सुदिलले गोल गर्दै आर्मीलाई ३-० को जित दिलाए ।
यस्तै खेलमा फ्रेन्ड्सका डोना थापा पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाए ।
आर्मीको यो सातौं जित हो । आर्मीले २० खेलमा २९ अंक जोडेको छ ।
आर्मी पाँचौं स्थानमा रहेको छ ।
फ्रेन्ड्सले २० खेलमा २१ अंक जोडेको छ ।
फ्रेन्ड्स १३ औं स्थानमा रहेको छ ।