काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको भोलि सोमबारबाट सुरु हुँदैछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा नेपालले सोमबार किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
घरेलु मैदानमा नेपाल उपाधि उचाल्ने योजनासहित कोर्ट उत्रने छन् ।
आइतबार आयोजित प्रि-म्याच कन्फरेन्समा नेपाली टोलीकी कप्तान अरुणा शाहीले प्रतियोगिताको उपाधि जित्दै ह्याट्रिक गर्ने योजना रहेको बताएकी छिन् ।
कप्तान अरुणाले तयारी राम्रो गरेको भन्दै उपाधिमा ह्याट्रिक गर्ने अवसर भएको बताएकी हुन् । अरुणाले अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको र यस संस्करणमा घरेलु कोर्टको फाइदा हुने भन्दै ह्याट्रिकको अवसर भएको बताईन ।
प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह 'ए' मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् ।
नेपालले बेल्जियन प्रशिक्षक जान डी ब्रान्टको नेतृत्वमा प्रतियोगिता खेल्नेछ ।
नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।