काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले ११ औं संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् ।
‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित शनिबार आयोजित हाफ म्याराथनमा पुरुषतर्फ मुकेश र महिलामा राजपुरा च्याम्पियन बनेका हुन् ।
मुकेशले निर्धारित दुरी १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
आर्मीकै राजन रोकाय १ घन्टा ७ मिनेट ५५ सेकेन्डको समय निकाल्दै दोस्रो भए । भारतीय सेनामा कार्यरत तीर्थ पुनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।
आर्मीकै खड्कबहादुर खड्का चौंथो र गजेन्द्र राई पाँचौं भए ।
लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा राजपुराले १ घन्टा १९ मिनेट १६ सेकेन्डको समय निकालिन् ।
राममाया बुढा १ घन्टा २३ मिनेट ०७ सेकेन्डको समय निकाल्दै दोस्रो र पुष्पा भण्डारी १ घन्टा २४ मिनेट ३१ सेकेन्डको समय सहित तेस्रो भईन् । पूर्णराज्य लक्ष्मी न्यौपाने चौंथो र गीता विक पाँचौं भइन् ।
हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १/१ लाख प्राप्त गरे । त्यस्तै दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौं हुनेले १० हजार प्राप्त गरे ।
थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क आएर सकिएको थियो ।