काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार आर्मीले एफसी खुमलटारसँग २-२ गोलको बराबरी खेलेको हो ।
आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।
खुमलटारका मेसुके ओलुमोउ र स्टेफेन समिरले एक एक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा आर्मीले बराबरी खेल्नु परेको हो ।
खेलको १४ औं मिनेटमा जगजितले फ्रिकिक मार्फत गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ५१ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७५ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै खुमलटारलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै आर्मीले १९ खेलमा २६ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा रहेको छ ।
खुमलटारले १९ खेलमा १८ अंक जोडेको छ । खुमलटार पुछारमा रहेको छ।