काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा फ्रेन्ड्स र मछिन्द्रले २-२ गोलको बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले दोस्रो हाफमा गोल गरेको थियो ।
खेलको ६८ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ७१ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ७८ औं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ । मछिन्द्र तेस्रो स्थानमा रहेको छ ।
फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ ।
फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।