काठमाडौं । गण्डकी प्रदेश फुटबल संघले फिफाद्धारा कास्कीको माछापुच्छ्रे गाउँपालिका भिडावारीमा निर्माण गर्ने भनिएको बहुउद्धेश्यिय टेक्निल सेन्टर निर्माणको काम यथाशक्य छिटो अघि बढाउन ज्ञापन पत्र बुझाएको छ ।
गण्डकी प्रदेश संघका अध्यक्ष लोकेन्द्र गुरुङ नेतृत्वको टोलीले गण्डकी प्रमुखका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरि फिफाको ड्रिम प्रोजेक्टको रुपमा रहेको बहुउद्धेश्यीय टेक्निकल सेन्टर निर्माणको परियोजना एन्फासँग पहल गरि निर्माण कार्य अघि बढाउन माग गरेको हो ।
फिफाको २० लाख अमेरिकी डलरको बहुउद्धेश्यीय टेक्निल सेन्टरको परियोजनाका लागि माछापुच्छ्रेको भिडावारी छनोट भएको थियो । त्यसपछि २० वर्षका लागि ३ सय ५२ रोपनी जग्गा उपलब्ध गराउने गरि एन्फा र गाउँपालिकाबीच सम्झौता भएको थियो । बहुउद्धेश्यिय टेक्निकल सेन्टर निर्माणका लागि फिफासँग समन्वय र सल्लाहमा इ–विडिङ मार्फत टेण्डर प्रक्रिया अघि बढेको थियो । तर एन्फामा नेतृत्व परिवर्तनसँगै भिडावारीको परियोजनाको काम अघि बढ्न सकेको छैन ।
प्रदेश अध्यक्षग गुरुङले गण्डकी प्रदेशमा बन्न लागेको उद्धेश्यीय टेक्निकल सेन्टर एन्फाको प्राथमिकतामा नपर्दा समग्र खेलकुद क्षेत्रलाई चिन्तित बनाएको भन्दै यसको अग्रसरता लिईदिन प्रदेश मुख्यमन्त्रीलाई आग्रह गरेका थिए ।
गण्डकी प्रदेश फुटबल संघले निर्माणको काम अघि बढ्न नसक्नुको यथार्थ छानविन गरि परियोजना अघि बढाउन प्रदेश खेलकुद परिषद्मार्फत एन्फासँग पहल गर्न समेत प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
छलफलमा एन्फा पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा समेत सहभागी थिए । उनकै पहल र योजनामा एन्फाले पोखरामा ड्रिम प्रोजेक्टको रुपमा बहुउद्धेश्यीय टेक्निल सेन्टर निर्माणको काम सुरु गरेको थियो । तर एन्फामा नेतृत्व परिवर्तन भएसँगै यस परियोजनाको काम अघि बढ्न सकेको छैन । नयाँ नेतृत्वले सो परियोजनाको बजेटलाई अन्य कार्यक्रममा रुपान्तरण गर्न फिफासँग लबिङ गर्दै आएको छ ।