काठमाडौं । दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि सुरु हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनीक गरेको हो ।
हेटौडाको पिप्ले क्याम्पा रंगशालामा जेठ ७ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताको समापन जेठ १३ गते सोही स्थानमा हुनेछ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाले १३ वटा खेलमा ७ सय ९४ पदकका लागि प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए ।
दोस्रो संस्करणको प्रतियोगितामा ५ खेल विधा थप गर्दै १३ पुर्याईएको छ । पहिलो संस्करणमा ८ खेल स्पर्धा मात्र समावेश गरिएको थियो ।
यस वर्ष फुटबल, भलिबल, रग्बी, बक्सिङ, कराँते, तेक्वान्दो, उसु, आईटिएफ तेक्वान्दो, जुडो, ब्याडमिन्टन, एथलेटिक्स, पौडी र क्रिकेट गरि १३ खेल समावेश गरिएको छ ।
प्रतियोगितामा ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद् बागमतीले जनाएको छ ।
प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रदेशले खेलकुदलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताईन् ।
उनले खेल क्षेत्रमा लगानी थप गर्ने बताउँदै अन्य प्रदेशमा हुन नसकेको प्रदेश खेलकुद प्रतियोगितालाई बागमती प्रदेश सरकारले यस वर्ष समेत निरन्तरता दिएको उल्लेख गरिन् ।