काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेलेको छ ।
आईतबार च्यासल मैदानमा जावलाखेलले मनाङसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
जावलाखेलले ३३ औं मिनेटमा एनकोटो मासोबीको गोलमा अग्रता बनाएको थियो । ७५ औं मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए । तर अन्तिम दश मिनेटको अन्तरमा दुई गोल गर्दै मनाङले लिग लिडरसँग अंक खोस्न सफल बन्यो ।
८० औं मिनेटमा विशन गुरुङले मनाङका लागि पहिलो गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेललाई रोक्न सफल भए ।
विष्णु गुरुङ मुख्य प्रशिक्षकमा आएपछि मनाङ जित निकाल्न प्रयासरत छ । तर पछिल्ला चार खेलमा मनाङले बराबरी मात्र खेलेको छ ।
जावलाखेल ३१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अंक सहित सातौं स्थानमा छ ।
एन्फा कम्प्लेक्समा सोही समुहमा भएको अर्को खेलमा एनआरटी र फ्रेन्ड्सले बराबरी खेले । रेलिगेशनबाट बच्न संघर्षरत दुवै टिमले २–२ खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
एनआरटी २२ अंक जोडेर तालिकाको आठौं स्थानमा छ । फ्रेन्ड्स २० अंक सहित ११ औं स्थानमा छ ।