तानसेन । पाल्पाको रानीमहलमा सुरु राष्ट्रिय वीच भलिबल प्रतियोगितामा विभागीय टिमले आर्मी र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन् । रानीमहल परिसरमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पालाई सोझो सेटमा हराए ।
आर्मीले लुम्बिनीलाई २१–१५ र २१–११ को सेटमा पराजित गर्यो भने गण्डकीले आयोजमाथि २१–११ र २१–१५ को सेटमा जित निकाल्यो ।
सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा सुरु प्रतियोगिता आगामी शनिबारसम्म चल्नेछ । प्रतियोगितामा कोशी बाहेकका ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिम सहभागी छन् । प्रतियोगिताको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका थिए । उनले रानीमहललाई वीच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता समेत जनाएका थिए ।
उनीसँगै बगनासकाली गाउँपालिकाकी सरस्वती चिदीमगर संयुक्त रुपमा प्रतिबद्धता ब्यक्त गरेकी थिईन् । दुवै स्थानीय सरकार प्रमुखले प्रतियोगिताका लागि पूर्वाधार निर्माणदेखि निरन्तरताका लागि स्थानीय तहले लगानी गर्ने बताएका थिए ।
वीच भलिबलमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजनाको सुरुआत गरिएको प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताएकी छिन् ।