तानसेन । पाल्पाको रानीमहलमा बिहीबार सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आर्मी र गण्डकी भिड्ने भएका छन् । बुधबार राति गरिएको लक्की 'ड्र' अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो ।
पाल्पाको रानीमहल परिसरमा बिहीबार एक कार्यक्रमका बीच दिउँसो एक बजे प्रतियोगिताको औपचारिक उद्घाटन खेल हुनेछ । सोही दिन आयोजक पाल्पा र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा गण्डकी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई चार समूहमा विभाजन गरिएको छ । कोशी प्रदेश बाहेक अन्य ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिमले प्रतियोगितामा नाम दर्ता गराएका थिए । समूह एमा आर्मी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश परेका छन् । समूह बीमा आयोजक टिम पाल्पा, गण्डकी र बागमती, समूह सीमा एपीएफ, मधेश प्रदेश र समूह डीमा पुलिस र कर्णाली परेका छन् ।
समूह सी र डीमा परेका दुवै टिम सोझै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको पहिलो र दोस्रो दिन समूह चरण र क्वार्टरफाइनलका खेल हुनेछन् । भने अन्तिम दिन सेमिफाइनल र फाइनल अन्तर्गतका खेलहरु हुनेछन् ।
पर्यटकीय क्षेत्र रानीमहलको प्रवद्र्धन र वीच भलिबलको विकासका लागि सञ्जय मेमोरियल फाउन्डेसनले गत वर्षदेखि सूरुआत गरेको प्रतियोगिताको दोस्रो संस्करण बैशाख २८, २९ र ३० गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताएकी छिन् ।