काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराएको हो।
मनाङको जितमा कोफी टिमोथी कुडोले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरे ।
विजय श्रेष्ठको पासमा पेनाल्टी बक्स भित्रबाट उनले गोल गरेका थिए ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले लगातार ६ हारपछि पहिलो जित निकालेको हो ।
यस अघि मनाङले ६ खेलमा लगातार हार व्यहोरेको थियो । जसको कारण मुख्य प्रशिक्षक किरण श्रेष्ठले समेत राजीनामा दिएका थिए ।
मनाङले आर्मीविरुद्ध मुख्य प्रशिक्षक बिनै खेलेको हो ।
मनाङको यो पाँचौं जित हो । मनाङ छैटौं स्थानमा उक्लिएको छ ।
जितपछि मनाङले १४ खेलमा १८ अंक जोडेको छ ।
आर्मीले १४ खेलमा २० अंक जोडेको छ ।
चौंथो हार व्यहोरेको आर्मी पाँचौं स्थानमा रहेको छ ।