काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ को पहिलो लेग सकिएको छ र मंगलबारबाट दोस्रो लेगका खेल सुरु हुनेछन् ।
पहिलो लेगमा लिगका १३ चरणका खेलहरु सकिएका छन् । जसमा कुल ९१ खेल भएको छ ।
पहिलो लेग सकिदा जावलाखेल युथ क्लबले शीर्ष स्थान ओगटेको छ । जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेलले ७ जित,३ बराबरी र ३ हार व्यहोरेको छ ।
पहिलो लेगमा शीर्ष स्थान र दोस्रो स्थानको टोलीबीच २ अंकको फरक रहेको छ । दोस्रो स्थानमा रहेको थ्री स्टारको २२ अंक रहेको छ ।
पहिलो लेग सकिदा सातदोबाटो युथ क्लब २२ अंक जोडेर तेस्रो, चर्च ब्वाइज युनाईटेड २१ अंक जोडेर चौंथो र २० अंक जोडेको त्रिभुवन आर्मी पाँचौं स्थानमा छन् ।
पहिलो लेगमा पुछारमा नेपाल पुलिस क्लब रहेको छ । ७ हार व्यहोरेको पुलिसले १२ अंक जोडेको छ । यस्तै एफसी खुमलटार १३ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
पहिलो लेगमा सर्वाधिक गोल गर्नेको सूचीमा विदेशी खेलाडीको बाहुल्यता रहेको छ । जसमध्ये शीर्ष तीनमा रहेका नेपाली खेलाडीमा सातदोबाटोका दीपक सिंह ठकुरी छन् ।
दीपकसँगै खुमलटारका मेसुके ओलुमोउ र जावलाखेलका एनकोटो मोसाबीले १३ खेलमा समान १०/१० गोल गरेका छन् ।
यस्तै पहिलो लेग सकिदा मछिन्द्रका आफिज ओलावाले, फ्रेन्ड्सका राफिक अमिनुले ८/८ गोल तथा थ्री स्टारका अजयी मार्टिन्स र जावलाखेलका फोडे फोफानाले ७/७ गोल गरेका छन् ।
पहिलो लेगमा सर्वाधिक असिस्ट दिने खेलाडीमा एपीएफका नविन लामा रहेका छन् । उनले ४ गोलका लागि असिस्ट गरेका छन् । यस्तै चर्च ब्वाइजका सुशिल शाह, हिमालयन शेर्पाका विश्वास श्रेष्ठ, फ्रेन्ड्सका सन्तोष कार्की, थ्री स्टारका अनिल महर्जनले ३/३ असिस्ट गरेका छन् ।
यस्तै पहिलो लेगमा सर्वाधिक क्लिन सिट राख्ने गोलकिपरमा थ्री स्टारका मोहमद ताहा रहेका छन् । ताहाले ८ खेलमा क्लिन सिट राखेको छ । यस्तै चर्च ब्वाइजका प्रिसोले ६ र आर्मीका विकेश कुथुले ५ क्लिन सिट राखेका छन् ।
पहिलो लेगमा आठ पटकको कीर्तिमानी विजेता मनाङ मर्स्याङ्दी क्लबले खराब नतिजा निकालेको छ । मनाङले पहिलो लेगमा लगातार ६ खेलमा हार व्यहोरेको छ । सात खेलसम्म अपराजित मनाङले त्यसपछिको ६ खेलमा हार व्यहोरेको हो ।