बाँके । सिटी युथ एकेडेमी क्लब बाँके र किड्स एकेडेमी फुटबल क्लब दाङबीच शनिबार मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सिटी युथ एकेडेमी क्लब कोहलपुरको आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको हो ।
कोहलपुर फुटसल एण्ड गेम संसारको भेन्युमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा बाँके र दाङमा सञ्चालित दुई फुटबल एकेडेमीका खेलाडी सहभागी थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज शाहीको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल, पूर्व अध्यक्ष शुशिल श्रेष्ठ, किड्स फुटबल एकेडेमीका प्रशिक्षक दुर्गा लावती, कोहलपुर फुटसलका व्यवस्थापक हिमाल खत्री, चुडामणी शर्मा, रेसिङ साहारा क्लबका अध्यक्ष चक्र धिमाल लगायतको उपस्थिती रहेको थियो ।
पश्चिम नेपालको फुटबल खेलको प्रबद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक सिटी युथ एकेडेमी क्लबका अध्यक्ष एवंम प्रशिक्षक युवराज शाहीले बताए । बाँकेबाट विभिन्न उमेर समुहका खेलाडी उत्पादन गर्न र उमेर समुहको राष्ट्रिय टिम निर्माणमा योगदान गर्ने उद्धेश्यका साथ कार्यक्रमको सुरुआत गरिएको शाहीले उल्लेख गरे ।
‘फुटबलको विकासका लागि एन्फामात्र हैन, सबै सरोकारवाला पक्ष एकजुट भएर कार्य गर्नुपर्छ । यस्ता कार्यक्रमको आयोजनाबाट बाँके जिल्ला सहित पश्चिम नेपालको फुटबलमा परस्पर सहयोगको विकास भएर उमेर समूहको राष्ट्रिय टिम निर्माणमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’ कार्यक्रमको उद्धेश्यबारे शाहीले भने ।
पश्चिम नेपालबाट विभिन्न उमेर समूहका फुटबल खेलाडी उत्पादनमा काम गर्दै आएका प्रशिक्षक शाहीले कार्यक्रमको आयोजना गरेका थिए ।