काठमाडौं । ऋतिक राणा र अभिषेक बाँस्तोला नवौं सिटिजन्स बैंक खुला टेनिसको पुरुष सिंगल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
ऋतिकले राष्ट्रिय च्याम्पियन प्रदीप खड्कालाई ३–६, ६–४ र ६–४ तथा अभिषेकले प्रणव खनाललाई ३–६, ६–४ र ६–२ को सेटमा पराजित गरे ।
महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टले आइशा डोल्कर गुरुङलाई ६–० र ६–४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनाइन् । उपाधिका लागि अभिलाषाले माहिका राणा र सुनिरा थापाबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छिन् ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मिक्स डबल्समा ऋतिक राणा र सुनिरा थापाको जोडीले निशान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडीलाई ६–३ र ६–३ तथा प्रदीप खड्का र माहिका राणाको जोडीले सक्षमविक्रम शाह र शुभाङ्गीलक्ष्मी शाहको जोडीलाई सीधा सेटमा ६–३ र ६–२ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व च्याम्पियन जितेन्द्र परियार र कमलबहादुर भण्डारी फाइनलमा पुगे । सो स्पर्धाको डबल्समा सन्तोष खत्री र दावा सोनाम शेर्पा तथा जितेन्द्र परियार र सुवर्ण धाक्वाको जोडीले फाइनलमा स्थान सुरक्षित गरे । ४५ वर्षमाथि पुरुष डबल्समा सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडीले फाइनल यात्रा तय गरे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा जित प्रधान, राजु श्रेष्ठ, जीवन घिमिरे र उत्तमकुमार लामा सेमिफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट र कमल थापाले उपाधि भिडन्त पक्का गरे ।