काठमाडौं । प्रदीप खड्का, ऋतिक राणा, अभिषेक बाँस्तोला र प्रणव खनाल नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को पुरुष सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रदीपले प्रणव मानन्धरलाई ६–२ र ६–४, ऋतिकले राजवीर प्रधानलाई ६–२ र ६–३, अभिषेकले आर्यन गिरीलाई ६–१ र ६–० तथा प्रणवले आरभसम्राट हाडालाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार, सिमान्त गुरुङ, सन्तोष खत्री र कमलबहादुर भण्डारी सेमिफाइनलमा पुगे ।
उक्त उमेरसमूहको पुरुष डबल्समा जितेन्द्र र सुवर्ण धाक्वा, सिमान्त र अनिल साइ, कमल र सुमित मैनाली तथा सन्तोष र दावा सोनाम शेर्पाको जोडी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङ, जित प्रधान, मनोज राणा, राजु श्रेष्ठ, प्रदीपबहादुर शाह, जीवन घिमिरे, बाबुकृष्ण कार्की र उत्तमकुमार लामाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सो उमेरसमूहको डबल्समा सुवर्ण र कृष्णराज घले, मनोज राणा र विनोद कायश्थ, राजु श्रेष्ठ र इब्राहिम मुस्लिम, काजी गुरुङ र विदुर विष्ट तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले क्वाटरफाइनल यात्रा तय गरे ।