ललितपुर । ललितपुर मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले एपीएफ क्लबलाई ३-१ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
फाइनल प्रवेश गर्ने क्रममा आर्मीले एपीएफलाई २५-२७,२५-१९,२५-१५ र २५-१९ ले हराएको हो ।
दोस्रो सेमिफाइनलमा पुलिसले ललितपुर महानगरपालिकालाई ३-० को सेटमा हराएर आर्मीसँगको भेट पक्का गरेको हो ।
पुलिसले ललितपुरमाथि २५-१५,२५-११ र २५-१५ को सेटमा जित निकाल्यो ।
अब आर्मी र पुलिसबीचको फाइनल शनिबार हुनेछ । एपीएफ र ललितपुरबीच तेस्रो स्थानको लागि खेल हुनेछ ।
महिलातर्फको फाइनलमा एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् ।
महिलातर्फ त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ । शुक्रबार न्यु डायमण्डलाई २५-२०,२५-२२ र २५-२२ ले हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।
ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।