ललितपुर । “मेयर कप–२०८०” खुल्ला महिला तथा पुरुष भलिबलमा बिभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाईनल प्रवेश गरेको छ ।
महिलातर्फ समूह ‘ए’को खेलमा आर्मीलाई हराउँदै नेपाल पुलिस समूह बिजेता बनेको हो । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो ।
पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २१–२५ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा २५–२१ र २६–२४ को जित निकाल्दै नेपाल पुलिस बिजेता बनेको हो ।
समूह ‘ए’ को खेलमा पुलिसले चार अंक जोड्यो । आर्मीले मात्र दुई अंक जोड्यो । कोटेश्वर बहुमुखी क्याम्पस अंक विहिन भयो । महिलातर्फको अर्को खेलमा ललितपुर महानगरपालिकाले परोपकार गर्ल्स होस्टेललाई ३–२ को सेटमा पाखा लगायो । ललितपुरले परोपकारलाई २६–२४, २५–१७, २३–२५, २८–३० र १५–१३ को सेटमा हरायो ।
पुरुषतर्फ बोगटी समाज ललितपुरले सुर्य बिनायक युथ क्लबलाई ३–२ को सेटमा हरायो। बोगटी समाज ललितपुरले सुर्य बिनायकलाई २१–२५, २५–२१, २७–२५, २२–२५, १५–१३ को सेटमा हराएको हो । अर्को खेलमा नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक खेलकुदमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले नेपाल गणतान्त्रिक खेलकुदमाथि २५–१७, २५–१७ र २५–१० को सेटमा हराएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ गरि १५ टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने छ ।