दलबहादुर र मञ्जुले जिते जुम्ला-रारा म्याराथनको उपाधि

काठमाडौं । कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु राउतले जितेका छन् ।
४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पूरा गर्दै उपाधिका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
पुरुषतर्फ धिर बहादुर बुढाले ४ घन्टा ५७ मिनट ५७ सेकेन्ड र सेर बहादुर बुढाले ५ घन्टा ८ मिनटमा दुरी पूरा गर्दै क्रमशः दोश्रो र तेश्रो भए ।
यस्तै महिलातर्फ गणना भण्डारी ६ घन्टा ५४ मिनट २७ सेकेन्ड समयका साथ दोश्रो र अनिता बुढा ७ घन्टा ५२ मिनट ४६ सेकेन्ड समयका साथ तेश्रो भए ।
दोश्रो र तेश्रो हुने खेलाडीहरुले नगद ७५ हजार र ५० हजारका साथ मेडल र प्रमाण पत्र प्राप्त गरे ।
म्याराथनमा पुरुषतर्फ ६१ र महिलातर्फ १० जना खेलाडीको सहभागिता रहेको राखेप प्रचार प्रसार शाखाका प्रशासकिय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी गराए ।
म्याराथन जुम्लाको २३५० मिटरको खलङ्ग बजारबाट सुरु भई डाँफे पास, न्युरीघाट, चौथा, दाभा, चुचेमारा पास, मिली चौर हुदै रारा तालको २९८० मिटर उचाईमा रहेको हुटुमा गएर पुरा भएको थियो ।
बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्य अञ्जन धमला, पर्वतिय खेलकुद महासंघका अध्यक्ष एवं पूर्व राखेप सदस्य गोविन्द भट्टराई, गिनिज बुक अफ वर्ड रेकर्डमा नाम लेखाउन सफल ओलम्पियन खेलाडी एवं आयोजक संस्था कर्णाली स्पोर्टस् क्लबका संरक्षक हरि बहादुर रोकाया र अध्यक्ष सरोज शाहीले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।