काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले चार 'ए' डिभिजन क्लबलाई जरिवाना गरेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग २०२३ अन्तर्गत विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको आरोपमा एन्फाले चार क्लबलाई जरिवाना गरेको हो ।
एन्फाले संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ क्लबलाई जरिवाना गरेको हो ।
एन्फाले संकटा, मछिन्द्र र खुमलटारलाई १०/१० हजार तथा एपीएफलाई ५ हजार जरिवाना गरेको हो ।
यस्तै एपीएफ क्लबका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध र १० हजार जरिवाना गरेको छ ।
मछिन्द्रविरुद्धको खेलमा पाण्डेले फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानलाई हातपात गरेका थिए ।
अप्रिल १६ मा एपीएफविरुद्धको खेलमा गोलकिपरको जर्सी विपक्षी टिमविरुद्ध मिल्दा खेलमा ढिलाई गरेपछि संकटालाई १० जरिवाना गरेको हो । त्यहिँ खेलको दोस्रो हाफमा अफिसियल जिवेश पाण्डे मैदान प्रवेश गरेर खेल प्रभावित गरेपछि एपीएफलाई ५ हजार जरिवाना गरेको हो ।
गत अप्रिल ११ मा मछिन्द्रसँगको खेलपछि च्यासल मैदानको ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै खुमलटारलाई १० हजार जरिवाना गरेको हो ।
यस्तै अप्रिल १५ मा न्युरोड टिमसँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको कारण मछिन्द्रलाई पनि १० हजार जरिवाना गरिएको हो ।