काठमाडौं । राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता बैशाख अन्तिम साता आयोजना हुने भएको छ ।
सन्जय मेमोरियल फाउन्डेसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख २८ देखि ३० गतेसम्म आयोजना हुने जनाएको छ ।
प्रतियोगिता पाल्पाको रानीमहलमा आयोजना हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल संघको स्वीकृतिमा आयोजना हुने प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र आयोजक गरि ११ टिमको सहभागिता रहनेछ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई विभिन्न समूहमा विभाजन गरेर खेलाइने छ ।
प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख, तेस्रोले ५० हजार र सान्त्वना पुरस्कार विजेताले २५ हजार पाउने छन् ।
प्रतियोगितामा सहभागी हुने टिमका दुई खेलाडी र एक अफिसियलको खाना, बस्ने र यातायात खर्च आयोजकले व्यहोर्नेछ । खेलाडीको बिमा समेत गरिनेछ ।
फाउन्डेसनले गत वर्ष महिला विधालाई समावेश गरेर प्रतियोगिता आयोजना गरेको थियो ।
नेपालको बिच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि नेपाल सरकारबाट १५ लाख बजेट विनियोजन भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव दामोदर रेग्मीले बिच भलिबलको आयोजनाबाट नेपालको ऐतिहासिक क्षेत्र रानीमहलको प्रबद्र्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले नेपालको बिच भलिबल सहित पर्यटन क्षेत्रको विकासमा आफ्नो सधै सहयोग रहने बताए ।
कलाकार धिरेन शाक्यले बिच भलिबलको आयोजनाबाट पाल्पाको रानीमहल दरबारको प्रबद्र्धनमा सहयोग पुगेको बताए । उनले प्रतियोगिताको निरन्तरताका लागि सरकार र नीजि क्षेत्रको सहयोग महत्वपुर्ण रहने उल्लेख गरे ।
फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले महिला टिम अन्तराष्ट्रिय प्रतियोगितामा ब्यस्त भएकाले दोस्रो संस्करणमा पुरुष टिम मात्र सहभागी हुने बताईन् । उनले तेस्रो संस्करणको प्रतियोगितालाई अन्तराष्ट्रिय रुपमा लैजाने गरि तयारी गरेको उल्लेख गरिन् । मास्केले प्रतियोगिताका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्ने बताईन् । उनले रानीमहलको बिच भलिबलमा सरकारले सुरुआत गरेको सहयोगका लागि धन्यवाद दिदै प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको सहयोगको अपेक्षा रहेको बताईन् ।
कार्यक्रममा भलिबल संघका उपाध्यक्ष गौतम लासिबा, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, प्राइमो सेक्युरेटीका सिइओ मेघरान उपाध्याय, तानसेन गुठीका उपाध्यक्ष प्रमी श्रेष्ठ, भलिबलका पूर्व राष्ट्रिय खेलाडी सुरेस लिगल, फाउन्डेसनका सल्लाहाकार पदम न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।