काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
थ्री स्टारको जितमा लाकेन लिम्बुले निर्णायक गोल गरे ।
खेलको १४ औं मिनेटमा लाकेनले थ्री स्टारको जितमा निर्णायक गोल गरे । आदित्य शाक्यको क्रसमा लाकेनको प्रहार हिमालयन शेर्पाका डिफेन्डर संजित राईलाई 'डिफ्लेक्ट' हुँदै गोल भएको थियो ।
यता, पेनाल्टीमा चुक्दा हिमालयनले हार व्यहोर्नु पर्यो ।
खेलको ४८ औं मिनेटमा हिमालयनका कप्तान विश्वास श्रेष्ठ पेनाल्टीमा गोल गर्न चुकेका थिए । थ्री स्टारका पिटर सगुनले अबायोमीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । तर, विश्वासले बाहिर प्रहार गरे ।
त्यसबाहेक दुबै टोलीले थुप्रै गोलको अवसर निकालेको थियो । तर, दुबै टोलीले त्यसलाई सदुपयोग गर्न सकेनन् ।
सातौं मिनेटमा अशोक खवासको क्रसमा थ्री स्टारका आदित्य शाक्यको हेडरले पोस्टको दिशा लिन सकेन ।
३४ औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यको शक्तिशाली प्रहार हिमालयनका गोलकिपर किशोर गिरीले बचाए ।
खेलको ५३ औं मिनेटमा थ्री स्टारका आदित्य शाक्यले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल हिमालयनका गोलकिपर किशोर गिरीले जोगाए ।
खेलको ७७ औं मिनेटमा हिमालयनका अबायोमीको सशक्त प्रहार थ्री स्टारका गोलकिपर ताहा मोहमदले बचाए ।
८५ औं मिनेटमा थ्री स्टारका पिटर सगुनको प्रहार हिमालयनका गोलकिपर किशोर गिरिले जोगाए ।
थ्री स्टारको यो पाँचौं जित हो । थ्री स्टारले १० खेलमा १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।
हिमालयन ९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।