काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले चौंथो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै आर्मीले चौंथो जित निकालेको हो ।
आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरे ।
खेलको ७५ औं मिनेटमा सुदिलले आर्मीको जितमा निर्णायक गोल गरे । जगजितको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेपछि आएको रिबाउन्डमा सुदिलले गोल गरे ।
सुदिलले निर्णायक गोल गरेपनि आर्मीले अन्य गोलको थुप्रै अवसर खेर फालेको थियो । मनाङले पनि गोलको केहि अवसर गुमायो ।
खेलको पहिलो मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोलको सुनौलो अवसर खेर फाले । पेनाल्टी बक्सभित्र आशिष गुरुङबाट बल खोस्दै जगजित श्रेष्ठले उपलब्ध गराएको पासमा नवयुगले खाली पोस्टमा गोल गर्न सकेनन् । अनमार्क रहेका उनले बाहिर प्रहार गरे ।
खेलको १२ औं मिनेटमा आर्मीका दिनेश हेन्जनले बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।
१४ औं मिनेटमा मनाङका कमल थापाको बक्स बाहिरबाटको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिए ।
खेलको १५ औं मिनेटमा आर्मीका जगजित श्रेष्ठको फिकिक मनाङका गोलकिपर तथा कप्तान दीप कार्कीले पन्च गर्दै खतरा टारे ।
खेलको ६० औं मिनेटमा आर्मीका दिनेश हेन्जनको बक्स बाहिरभित्रबाटको सशक्त प्रहार मनाङका गोलकिपर दीप कार्कीले जोगाए ।
६३ औं मिनेटमा आर्मीका जगजित श्रेष्ठको कर्नरमा दीपक गुरुङको हेडर मनाङका गोलकिपर दीपले बचाए ।
खेलको इन्जुरी समयमा मनाङका कोफी टिमोथीको हेडर आर्मीका गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिए ।
यस्तै खेलको ८७ औं मिनेटमा मनाङका प्रवेश कुँवर चोट बोक्दै मैदानबाट बाहिरिए । आर्मीका भरत चौधरीसँग जुध्न पुग्दा उनी घाइते भएका थिए । उनलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।
जितसँगै आर्मीले १० खेलमा १५ अंक जोडेको छ । आर्मी चौंथो स्थानमा उक्लिएको छ ।
मनाङको यो लगातार तेस्रो हार हो । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङले दोस्रो पटक लगातार तीन खेलमा हार व्यहोरेको हो । यसअघि मनाङले ०६६–६७ मा लगातार तीन खेल हारेको थियो ।
मनाङले १० खेलमा १५ अंक जोडेको छ । मनाङ पाँचौं स्थानमा झरेको छ ।