काठमाडौं । फुटबल प्रशिक्षक रोजित केसी नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्षमा मनोनित भएका छन् ।
केसी कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको सर्लाही जिल्ला अध्यक्ष पदमा मनोनित भएका हुन् । संघका अध्यक्ष देबेन्द्र कुमार शेरचनले केसीलाई जिल्ला अध्यक्ष पदमा नियुक्त गरिएको जानकारी गराएका छन् ।
केसी मोफसलमा बसेर फुटबल खेलाडी उत्पादनमा काम गर्दै आएका छन् । मोफसलको चर्चित क्लब बागमती युथ क्लबको प्रशिक्षक रहेका केसीले जिल्लामा बसेर नेपालको उमेर समुहको राष्ट्रिय टिममा योगदान गर्दै आएका छन् ।
बागमती युथ क्लबका अधिकांश खेलाडीले उमेर समुहको राष्ट्रिय टिम हुँदै नेपालको डिभिजन लिगमा आफुलाई अब्बल साबित गर्दै आएका छन् । नेपालको उमेर समुहको राष्ट्रिय टिममा उनकै एकेडेमी खेलाडीहरुको बाहुल्यता देखिएपछि केसी चर्चामा आएका प्रशिक्षक हुन् ।
उमेर समुहको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका रोजितले चोटका कारण खेलाडी जिवनमा पूर्णविराम लगाउँदै प्रशिक्षण करियर अघि बढाएका थिए ।
मोफसलबाट खेलाडी उत्पादनमा उत्कृष्ट कार्य गरेवापत एन्फाले केसीलाई यू–२३ टिमको सहायक प्रशिक्षकको जिम्मेवारी समेत दिएको थियो ।
मोफसलमा बसेर राष्ट्रिय टिमका लागि खेलाडी उत्पादन गर्ने रोजित जस्ता प्रशिक्षकको संख्या नेपाली फुटबलमा निकै थोरै छ । उनै केसीलाई लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा मनोनयन गर्दै खेलकुदको महत्वपुर्ण जिम्मेवारी दिएको छ ।