काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगको आयोजनाको अनिश्चिततालाई लिएर विरोध प्रर्दशन गरिएको छ । आईतबार ललितपुरको च्यासल मैदानमा संकटा र एपीएफको खेलको दौरान बी डिभिजन लिगको आयोजनालाई लिएर सरोकारवाला निकायको ध्यानाकर्षण गराईएको छ ।
बी डिभिजन क्लब सरस्वती युथका अध्यक्ष शिक्षित पराजुलीको नेतृत्वमा अन्य क्लबका पदाधिकारी र फुटबल समर्थकले बी डिभिजन लिगको आयोजनालाई लिएर सांकेतिक विरोध प्रर्दशन गरेका थिए । उनीहरुले बी डिभिजन लिग खै भनेर प्रश्न गरेको प्लेकार्ड प्रर्दशन गरेका थिए । उनीहरु साधारणतर्फको प्यारापिटमा बसेर खेलको दौरान प्लेकार्ड देखाएर एन्फा नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
यस वर्षको बी डिभिजन लिगको आयोजना अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत २९ गतेलाई बी डिभिजन लिगको मिति तोकेको थियो । तर आर्थिक अभावको कारण देखाउँदै एन्फाले आफुलेनै तोकेको मिति लिग सञ्चालन गर्न सकेन ।
लिगको तयारी खर्च नपाएको भन्दै बी डिभिजनका क्लबहरुले एन्फाको ध्यानाकर्षण गराएका थिए । एन्फाले बी डिभिजन लिग निर्धारित मितिमा गर्न नसकेपछि क्लबहरुले तयारी वापतको क्षतिपूर्ति पाउनुपर्ने माग सहित एन्फामा निवेदन दर्ता गराएका छन् ।
एन्फाले बी डिभिजन लिगको नयाँ मिति घोषणा गरेको छैन । बी डिभिजन लिग अनिश्चित बनेसँगै यस वर्ष लिगको चक्र पुरा नहुने चिन्ता देखिएको छ । बी र सी डिभिजन लिग नभएको खण्डमा लिगको वार्षिक चक्रनै बिग्रने देखिन्छ । बी डिभिजनका अधिकांश क्लबले एन्फा नेतृत्व लिग गराउन असक्षम देखिएको आरोप लगाउन सुरु गरेका छन् ।
बी डिभिजनको सरस्वती क्लबका महासचिव उत्तम भण्डारी लिग कहिले हुन्छ भनेर एन्फा नेतृत्वले प्रस्ट जवाफ दिनुपर्ने बताउँछन् । उनले एन्फालाई दबाब दिन आईतबार सार्वजनीक रुपमा च्यासल मैदानमा सांकेतिक विरोध प्रर्दशन गरिएको बताएका छन् ।