काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा एफसी खुमलटारले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा खुमलटारले आर्मीलाई ३-२ गोल अन्तरले हराएको हो ।
खुमलटारको जितमा मेसुके ओलुमोउले दुई गोल गरे । कप्तान रेजिन सुब्बाले एक गोल थपे ।
आर्मीका नवयुग श्रेष्ठ र सुशान्त चौधरीले एक एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, १८ औं मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको २७ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २-१ को अग्रता दिलाए ।
खेलको ५२ औं मिनेटमा रेजिनले गोल गर्दै खुमलटारलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ९० औं मिनेटमा आर्मीका सुशान्तले गोल गरेपनि खुमलटार ३-२ ले विजयी भयो ।
खुमलटारको यो तेस्रो जित हो । जितसँगै खुमलटारले ९ खेलमा १० अंक जोडेको छ ।
खुमलटार दशौं स्थानमा रहेको छ ।
आर्मीको यो तेस्रो हार हो । आर्मीले ९ खेलमा १२ अंक जोडेको छ ।
आर्मी आठौं स्थानमा छ ।