काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सेटमा हराएर आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।
आर्मीले गण्डकीमाथि २५-१८, २५-११ र २९-२७ ले हराएको हो ।
तेस्रो भएसँगै आर्मीले १ लाख र चौंथो भएको गण्डकीले ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार नै भिड्ने छन् ।
विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।