काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल प्रहरी क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्यो ।
लगातार दुई सेट आफ्नो पक्षमा पारेको आर्मीले २५–२३ र २५–१२ को प्रदर्शन गर्यो । एपीएफले तेश्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै खेललाई २–२ को बराबरीमा पुर्राएको थियो । पाँचौं तथा निर्णायक सेट १५–१० ले कब्जा गर्दै एपीएफले फाइनलमा स्थान सुनिश्चित गर्यो ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा प्रहरीले गण्डकीलाई २५–२२, २५–२० र २५–२१ ले हराउदै एपीएफसंग उपाधि भिडन्त पक्का गर्यो । फाइनल शनिबार हुनेछ ।
विजेताले ४ लाख, उपविजेताले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । सन्त्वना पुरस्कार स्वरुप ५० हजार रुपियाँ प्रदान गरिने छ ।
विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही १० हजार तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।