काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार अर्को विभागीय प्रतिद्वन्दी त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा हराउँदै एपीएफ उपाधि नजिक पुगेको हो ।
पाँचौं सेटमा पुगेको खेलमा सुरुआती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै एपीएफ फाइनल पुगेको हो ।
पहिलो र दोस्रो सेट आर्मीले २५-२३ र २५-१२ ले जितेको थियो । त्यसपछिको सेटमा २५-२२,२५-२३ र १५-१० को जित निकाल्दै एपीएफ फाइनल पुगेको हो ।
अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीचको विजेतासँग खेल्नेछ । पुलिस र गण्डकीबीचको खेल शुक्रबार नै हुनेछ ।
पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठनको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ ।
यस्तै विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्बोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने छन् ।