काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार चर्च ब्वाइज र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले बनाएको थियो । तर, पहिलो हाफमा लिएको अग्रता चर्च ब्वाइजले जोगाउन सकेन ।
खेलको २१ औं मिनेटमा जोस्पेह बेम्पाहले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ७३ औं मिनेटमा अमित तामाङले पेनाल्टीमार्फत गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
चर्च ब्वाइजका मनोज राईले पेनाल्टी क्षेत्रभित्र टोरिक जेब्रिनलाई फउल गर्दै लडाएपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो ।
यस बराबरीसँगै चर्च ब्वाइजले ८ खेलमा १४ अंक जोडेको छ ।
चर्च ब्वाइज तेस्रो स्थानमा उक्लिएको छ ।
फ्रेन्ड्सले ८ खेलमा ५ अंक जोडेको छ । फ्रेन्ड्स १३ औं स्थानमा उक्लिएको छ ।