इलाम । नयाँ वर्षमा इलाममा आयोजना हुने इलाम-माइपोखरी म्याराथन प्रतियोगितामा चार विदेशीसहित १ सय ३६ धावक सहभागी हुने भएका छन् ।
पर्यटन प्रवर्द्धनको उद्देश्यसहित शुक्रबार आयोजना गरिने म्याराथन प्रतियोगितामा एक जना केन्याका, चार जना भारतका र १ सय ३१ नेपाली धावक सहभागी हुने भएका हुन् । जसमध्ये १ सय ११ पुरुष र २५ महिला धावक सहभागी हुने इलाम नगरपालिकाले जनाएको छ ।
पुरुषतर्फ इलाम नगरपालिका १०, गोदकको नारायण चोकदेखि सन्दकपुर गाउँपालिकाको सातखाल्डेसम्म ४२ दशमलव २ र महिलातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता हुनेछ । पुरुषतर्फ म्याराथनको दूरी पार गर्न ४ घण्टा १० मिनेट र महिला तर्फको दूरी पार गर्नका लागि २ घण्टा ५ मिनेट समय निर्धारण गरिएको छ ।
पुरुषतर्फको म्याराथन विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख पचास हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । त्यस्तै महिलातर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र सदरमुकामस्थित नेपाली सेनाको रणशार्दूल गणको संयुक्त आयोजनामा हुने म्याराथुनको तयारी अन्तिम चरणमा पुगेको इलाम नगरपालिकाले जनाएको छ ।
प्रतियोगिताका सहभागी धावकलाई बिहीबार स्वास्थ्य परिक्षण गरी अभिमुखीकरण गरिने इलाम नगरपालिकाले जनाएको छ । इलामको पर्यटकीय गन्तव्यको रुपमा परिचित सन्दकपुर गाउँपालिकामा जारी प्रथम सन्दकपुर महोत्सवको आकर्षणको रुपमा म्याराथन प्रतियोगिता आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए ।