काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘ए’ को लिगमा आर्मीले गण्डकी प्रदेशलाई २५–१०, २५–१७ र २७–२५ को सोझो सेटमा पराजित गर्यो ।
जितसंगै आर्मी समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले गण्डकी पनि उपविजेताका हैसियतले सेमिफाइनलमा पुग्न सफल भयो ।
पेष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सीधा सेटमा २५–१६, २५–१७ र २५–१६ ले हरायो । प्रहरी समूह ‘बी’ को विजेता बन्यो । ३ टिम रहेको समूहमा प्रहरीले उद्घाटन खेलमा एपीएफलाई मंगलबार ३–० ले हराएको थियो ।
बिहीबार एपीएफ र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने छ ।