काठमाडौं । रोयल ब्लु सातदोबाटो क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।
सातदोबाटोको जितमा दीपक सिंह ठकुरीले निर्णायक गोल गरे ।
खेलको ४० औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई जित दिलाएका हुन् । निरज चौधरीले उपलब्ध गराएको पासमा उनले गोल गरे ।
त्यसबाहेक दुबै टोलीले पाएको मौकालाई सदुपयोग गरेनन् ।
खेलको ३३ औं मिनेटमा सातदोबाटोका विलियम ओपोकु ओसेडुले प्रहार गरेको फ्रिकिक मनाङका गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे ।
खेलको ७० औं मिनेटमा विलियमको प्रहार पनि दीप कार्कीले उत्कृष्ट बचाऊ गरे ।
खेलको ८७ औं मिनेटमा मनाङका कोफी टिमोथी कुडोले प्रहार गरेको बल सातदोबाटोका गोलकिपर निशान थापा मगरले बचाए ।
खेलको इन्जुरी समयमा सातदोबाटोका दीपकको प्रहार मनाङका गोलकिपर दीपले जोगाए ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ८ खेलमा १६ अंक जोडेको छ । सातदोबाटोको यो पाँचौं जित हो ।
मनाङको यो सिजनको पहिलो हार हो । मनाङ ८ खेलमा १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ।