काठमाडौं । नेपाल पुलिस क्लबले प्रथम पोष्ट बहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा जित निकाल्दै पुलिसले सुखद सुरुआत गरेको हो ।
विभागीय डर्बी भिडन्तमा पुलिसले एपीएफलाई पहिलो सेटमा २५-२१, दोस्रो सेटमा २५-२२ र तेस्रो सेटमा २६-२४ ले हराएको हो ।
पहिलो खेलमा जित निकालेसँगै समूह 'बी' को पुलिसले ३ अंक जोडेको छ । र, पुलिसले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
प्रतियोगितामा तीन विभागीयसहित गण्डकी र सुदूरपश्चिम गरि ५ टोलीको सहभागिता रहेको छ ।
लिग चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठनको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ ।
यस्तै विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्बोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ ।