काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सोमबार मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले रोमान्चक बराबरी खेल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।
शीर्ष स्थानको मनाङसँग बराबरी खेलेपछि थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसीले जारी लिगकै उत्कृष्ट खेल भएको बताए ।
'आजको खेल लिगकै उत्कृष्ट रह्यो । थ्री स्टारले उत्कृष्ट खेल्यो र मनाङ पनि राम्रो खेल्यो,' उनले भने, 'नेपाल क्लासिको प्रमाणित भयो ।'
खेलको ७८ औं मिनेटमा सन्तोष शाहुखलले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८४ औं मिनेटमा कोफी टिमोथी कुडोले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
'थ्री स्टार अहिलेको स्थितिमा पुगेको छ । अझ राम्रो गर्छ । ३ अंकको लागि आएको हो । नजिक पनि पुगेका थियौं । गोलकिपर चिप्लदा गोल भयो,' प्रशिक्षक केसीले थपे ।
प्रशिक्षक केसीले सन्तोषको गोललाई तारिफ गरे ।
'त्यो ३ अंकको गोल थियो । उनको गोललाई तारिफ गर्ने मेरो स्तरले भ्याउदैन,' उनले भने ।
मनाङका मुख्य प्रशिक्षक किरण श्रेष्ठले लक्ष्य अनुसार टिम सफल भएको बताए ।
'थ्री स्टार राम्रो टिम हो । राम्रो लयमा छ । हाम्रो लक्ष्य अंक नगुमाउने थियो । सफल भयौं,' उनले भने, 'खेलाडीले राम्रो खेले । तर, हाम्रो खेलाडी शारीरिक रुपमा अलि कमजोर देखिए ।'