काठमाडौं । बी डिभिजन क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग क्षतिपुर्ति रकम माग गरेका छन् । एन्फाले तोकेको मितिमा लिग गर्न नसकेको भन्दै बी डिभिजनका १३ क्लबले एन्फासँग क्षतिपुर्ति रकम माग गरेका हुन् ।
एन्फाले चैत १५ गतेबाट बी डिभिजन लिग सञ्चालन गर्ने निर्णय गरेको थियो । लिगको तयारी खर्च नपाएपछि बी डिभिजनका क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फाको ध्यानाकर्षण पत्र बुझाएका थिए । एन्फाको कार्यसमिति बैठकले चैतको २९ गतेका लागि बी डिभिजन लिगको नयाँ मिति तोकेको थियो ।
तोकेको मितिमा लिग हुन नसकेपछि आफुहरुलाई आर्थिक भार परेको भन्दै बी डिभिजनका क्लबले एन्फासँग क्षतिपुर्ति माग गरेका हुन् । बी डिभिजनका १३ वटा क्लबले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई पत्र लेख्दै क्षतिपुर्ति उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले एन्फा मुख्यालयमा सोमबार पत्र दर्ता गराएका छन् ।
चैत १५ गतेको सहमती अनुसार कार्यसमिति बैठकमार्फत ४५ दिनको क्षतिपुर्ति दिने सहमती विपरित एन्फाले कुनै निर्णय नगरेपछि बी डिभिजनका क्लब आक्रोशित बनेका हुन् । उनीहरुले सहमती उल्लंघन गर्दै एन्फा नेतृत्वले कार्यसमिति बैठकमा आफुहरुले एजेण्डा समावेश नगरेको आरोप लगाएका छन् ।
बी डिभिजनको आरसीटी, ब्रिगेट ब्वाईज, मध्यपुर युथ, नयाँ बस्ती, बासबारी, श्री कुमारी, सरस्वती, विरगञ्ज, टुसाल, ब्वाईज युनियन, श्री भगवती, च्यासल, झापा फुटबल क्लबले सामुहिक रुपमा एन्फासँग क्षतिपुर्ति माग गरेका हुन् । एन्फा उपाध्यक्ष दावा लामाको प्लानिङ ब्वाईजले भने पत्रमा हस्ताक्षर गरेको छैन ।