काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबले रोमान्चक बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मी र सातदोबाटोले ३-३ गोलको बराबरी खेलेका छन् ।
खेलको चौंथो मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २५ औं मिनेटमा आर्मीका सुरोज बस्नेतले आत्मघाती गोल गरेपछि खेल १-१ को स्थितिमा पुग्यो ।
खेलको ३९ औं मिनेटमा जिलेस्पीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।
४८ औं मिनेटमा सातदोबाटोका सार्दोरबेक माटमुरातोभले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ५२ औं मिनेटमा दीपक गुरुङले गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा विलियम ओसीडुले फ्रिकिकमार्फत गोल गर्दै सातदोबाटोलाई ३-३ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै सातदोबाटोले ७ खेलमा १३ अंक जोडेको छ । सातदोबाटो तेस्रो स्थानमा रहेको छ ।
आर्मीले ७ खेलमा ९ अंक जोडेको छ । आर्मी आठौं स्थानमा रहेको छ ।