हेटौडा । यही चैत्र २७ गतेबाट हेटौंडामा पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको छ । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा हुन लागेको हो ।
प्रतियोगिता हेटौंडा १२ पान्तले स्थित बुद्ध माविको खेल मैदानमा हुने हेटौंडा नगर भलिबल संघका सचिव एवं प्रतियोगिता संयोजक त्रिबिक्रम रुपाखेतीले जानकारी दिए । प्रतियोगितामा उपमहानगरपालिका भित्रका वडाबाट महिला र पुरुषको एक/एक टिमले सहभागिता जनाउने संयोजक रुपाखेतीले बताए । उनका अनुसार प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै सेमिफाइनल पुग्ने टोलीले पनि १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २ हजार ५ सय सहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले नगद एकहजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ९ वटा वडाले सहभागिता जनाउने पक्का भएको संयोजक रुपाखेतीले जानकारी दिए ।
सम्बन्धित वडाको बासिन्दाले मात्रै प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताको लागि करिब ८ लाख ४६ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको अघिल्लो संस्करणमा महिला तथा पुरुष दुवैतर्फको उपाधि हेटौंडा १७ नम्बर वडाले जितेको थियो ।