काठमाडौं । प्रथम पोष्ट बहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
पोस्ट बहादुर बोगटी स्मृति प्रतिष्ठनको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिता चैत २८ गतेबाट बैशाख २ गतेसम्म हुनेछ ।
खेलाडीको क्षमता वृद्धि र भलिबलको सर्वागिण विकासमा टेवा पुर्याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले जानकारी दिएको हो ।
प्रतियोगितामा तीन विभागीयसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरि ६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतिष्ठानका महासचिव निर्मल आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने प्रतियोगिता ५ दिन सम्म सञ्चालन हुनेछ ।
लिगकप नकआउटको आधारमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ प्राप्त गर्दा सान्त्वना टोली ५० हजार रुपैयाँबाट पुरस्कृत हुनेछ ।
यस्तै विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्बोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिता आयोजना गर्न अनुमानित कुल ५२ लाख रुपैयाँ लाग्ने प्रतियोगितालाई राखेपले २० लाख रुपैयाँ प्रदान गर्नेछ भने बाकी रकम विज्ञापन र प्रतिष्ठानबाट जुटाउने प्रतिष्ठानले जानकारी दिएको छ ।
कार्यक्रम सफल बनाउनका लागि नेपाल भलिबल संघका अध्यक्षले प्राविधिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।