काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्समा बिहीबार हिमालयन र मछिन्द्रले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।
त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८६ औं मिनेटमा सत्यमले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे ।
यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोडेको छ । हिमालयन नवौं स्थानमा छ ।
मछिन्द्रले ६ खेलमा ६ अंक जोडेको छ । मछिन्द्र दशौँ स्थानमा रहेको छ।