काठमाडौं । गण्डकी प्रदेश र विभागीय नेपाल एपीएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गण्डकीले पुलिसलाई तथा एपीएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सोमबार भएको दोस्रो सेमिफाइनलमा गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । गण्डकीले पुलिसलाई २५–२१, २५–१५, २२–२५, २०–२५ र १५–९ ले पराजित गर्यो ।
मंगलबारै भएको पहिलो सेमिफाइनलमा एपीएफले आर्मीमाथि १८–२५, २५–२२, २५–२२ र २५–२१ को सेटमा जित निकाल्दै फाइनलमा पुग्न सफल भयो । फाइनल र तेस्रो स्थानको लागि बुधबार प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपमा ११ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । च्याम्पियनसिपको विजेताले २ लाख ५० हजार, कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ लाख २५ हजार, कप र मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले ६५ हजार, कप र मेडल प्राप्त गर्नेछ ।
च्याम्पियनसिपको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैया प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रशिक्षक प्रशिक्षण गरेका प्रशिक्षकलाई मात्रै उत्कृष्ट प्रशिक्षक प्रदान गरिने आयोजकले जनाएको छ ।