काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपीए स्पोर्टस अवार्डमा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् ।
एन्जिला र प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान एक एक लाख नगद प्राप्त गरे ।
यस्तै करातेकी चन्चला दनुवार महिलातर्फ र पुरुषतर्फ गल्फका सद्भाव आचार्य प्रतिभाशाली खेलाडी चुनिए । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गरे ।
सर्वोत्कृष्ट पारा एथलेट अवार्ड सुभेक्षा खतिवडा, गजराज आदर्ष खेल व्यक्तित्व अवार्ड खड्गबहादुर रानाभाट र उत्कृष्ट खेलकुद पत्रकार पुरस्कार ध्रुब तुलाधरले प्राप्त गरे ।
पारा अवार्ड विजेताले १५ हजार, गजराज आदर्श खेल व्यक्तित्व अवार्ड विजेताले ३५ हजार र खेलकुद पत्रकारिता पुरस्कार विजेताले २५ हजार प्राप्त गरेका छन् ।
ठमेलस्थित एलफ्ट होटलमा आयोजित अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २६ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान समेत गरिएको थियो ।
यस पटक फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, सुटिङ, जुडो, ब्याडमिन्टन, आर्चरी, टेबल टेनिस, बक्सिङ, साइक्लिङ, फेन्सिङ, जिम्न्यास्टिक, हक्की, स्विमिङ, ट्रायथोलन, स्की, कुस्ती, बास्केटबल, कबड्डी, कराते, र्याफ्टिङ, भलिबल, तेक्वान्दो र लन टेनिसका खेलाडी सम्मानित हुनेछन् ।
यस पटक आर्चरीका इमायुङ राई, एथलेटिक्सका दीपक अधिकारी, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका अनुषा मल्ल, बक्सिङका सुष्मा तामाङ, साइक्लिङका निष्मा श्रेष्ठ र फेन्सिङका ओमकार सिंहले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।
त्यस्तै फुटबलका एन्जिला तुम्बापो सुब्बा, गल्फका सद्भाव आचार्य, जिम्न्यास्टिकका नारायण मानन्धर, ह्याण्डबलका विशाल नेपाली, हक्कीका कमला चन्द, जुडोका संजित ढंगोल, कबड्डीका घनश्याम रोकामगर, करातेका चन्चला दनुवार, र्याफि्टङ एन्ड क्यानोइङका मोहन राणा, सुटिङका सुष्मिता नेपाल, स्कीका संगिता लामा, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसका सिक्का सुवाल श्रेष्ठ, टेनिसका रितिक राना, ट्रायथलनका श्रेबी महर्जन, भलिबलका सलिना श्रेष्ठ , भारोत्तोलनका विशालसिंह विष्ट, कुस्तीका सुशिला चन्द र उसुका सुष्मिता तामाङले उत्कृष्ट खेलाडी अवार्ड प्राप्त गरे ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ लगायतले पुरष्कृत गरे ।