काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आकस्मिक कार्यसमितिको बैठक असन्तुष्ट पक्षले बहिष्कार गरेका छन् । अध्यक्ष पंकज बिक्रम नेम्वाङले शनिबार बिहान आपतकालिन कार्यसमित बैठक आह्वान गरेका थिए । उनले एन्फा कम्प्लेक्स सातदोबाटोमा बैठक बिहान ९ बजेका लागि बोलाएका थिए ।
तर एन्फाको असन्तुष्ट समूहले आकस्मिक कार्यसमितिको बैठक बहिष्कार गरेको छ ।
असन्तुष्ट पक्षले बैठकको एजेण्डाको माग गरेका थिए । बैठकमा उपाध्यक्षत्रय बिराजजंग शाह, दिर्घबहादुर केसी, दिपक खतिवडा र सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा, मनिष जोशी अनुपस्थित रहे ।
बैठकमा बहुमत सदस्य अनुपस्थित रहेपछि एन्फाले बिहान १० बजेर ४४ मिनेटमा पुन जुन मिटिङको लिङ्क पठाएको थियो ।
एन्फा उपाध्यक्ष दिर्घबहादुर केसीले नेतृत्वले बैठक छलेर अघि बढ्न खोजेको आरोप लगाएका छन् । ‘हिजोको बैठक पनि ढाटेर र छलेर गरिएको हो । बैठक छल्न जुम मिटिङको लिङ्क पठाईएको छ । नेतृत्वले कहिलेसम्म ढाटेर, छलेर अघि बढ्ने भन्ने मुख्य विषय हो ।’ उनले भने ।
एन्फाको यसअघिको कार्यसमिति बैठक समेत असन्तुष्ट समुहले बहिष्कार गरेका थिए । तर एन्फा नेतृत्वले बहुमत पुर्याउन केही सदस्यलाई विदेश भ्रमणको प्रलोभनमा पारेर बैठकको उपस्थिती पुस्तिका र निर्णय प्रक्रियामा हस्ताक्षर लिन सफल भएको थियो ।