काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पुनरागमन जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मनाङले एपीएफ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
मनाङको जितमा कमल थापा र सेदजामोल दाभ्लातजोनोभले एक एक गोल गरे ।
एपीएफका अर्मान्ड बिडोमले एक गोल गरे ।
खेलमा एक गोलको सुरुआती अग्रता उल्टाएर मनाङले जित निकालेको हो ।
३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाको क्रसमा बिडोमले हेडरमार्फत गोल गरे ।
तर, खेलको ५२ औं मिनेटमा कमल थापाले गोल गर्दै मनाङलाई १-१ गोलको बराबरीमा ल्याए । सुमित श्रेष्ठले एपीएफका बिकी तामाङलाई बिट गर्दै उपलब्ध गराएको पासमा कमलले वान टचमा गोल गरे ।
त्यसपछि खेलको ७२ औं मिनेटमा उज्वेकिस्तानका विंगर सेदजामोलले गोल गर्दै मनाङलाई २-१ को जित दिलाए ।
त्यसबाहेक दुबै टोलीले गोलको केहि अवसर गुमाएका थिए ।
खेलको तेस्रो मिनेटमा एपीएफका कप्तान नविन लामाको फ्रिकिकमा बिकी तामाङको हेडर मनाङका गोलकिपर तथा कप्तान दीप कार्कीले आफ्नो पन्जामा पारे ।
खेलको २६ औं मिनेटमा मनाङका फरवार्ड कोफी टिमोथीको फितलो प्रहार एपीएफका गोलकिपर युया कुरियामाले सहजै बचाए ।
खेलको ४३ औं मिनेटमा एपीएफका हरि कार्कीले गोलको अवसर गुमाए । बिकी तामाङले डिबक्स भित्र उपलब्ध गराएको पासमा अनमार्क रहेका हरिको प्रहार मनाङका गोलकिपर दीपले सहजै नियन्त्रणमा लिए ।
५९ औं मिनेटमा मनाङका कमलको कर्नरमा आशिष गुरुङको हेडर एपीएफका डिफेन्डर मान बहादुर राना मगरले गोललाइनबाट क्लियर गर्दै खतरा टारे ।
३३ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाए । नविन लामाको क्रसमा बिडोमले हेडरमार्फत गोल गरे ।
खेलको इन्जुरी समयमा मनाङका कोफीको पेनाल्टी क्षेत्र भित्रबाटको प्रहारले पोस्टको दिशा लिन सकेन ।
मनाङको यो तेस्रो जित हो । अपराजित मनाङले ५ खेलमा ११ अंक जोडेको छ ।
मनाङ लिगको दोस्रो स्थानमा उक्लिएको छ।
एपीएफले ५ खेलमा ७ अंक जोडेको छ । एपीएफ छैटौं स्थानमा रहेको छ ।