काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी शनिबार विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीले पुलिससँग १-१ गोलको बराबरी खेलेको हो।
खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा एनआरटी बराबरीमा रोकिएको हो ।
पुलिससँग बराबरी खेलेपछि मुख्य प्रशिक्षक राजुकाजी शाक्य खुसी देखिएनन् । उनले खेलाडीको प्रदर्शनमा चित्त नबुझेको प्रतिक्रिया दिए ।
'हामीलाई ३ अंकको मतलब हो । मौका पनि पाएको हो । तर, तालमेल मिलेन । विदेशी खेलाडीले सोचेको जस्तो खेल्न सकेन,' उनले भने, 'खेलाडीले कस्तो खेल्छ बुझ्न सकेको छैन । खेलमा चित्त बुझेको छैन ।'
शाक्यले खेलाडीलाई उपलब्ध गरेको सुविधा अनुसार उनीहरुले नखेलेको बताए । खेलाडीले मैदानमा आफ्नो टिमको र विपक्षी टिमको जर्सी छुट्टाउन नसकेको दाबी गरे ।