काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार न्युरोड टिम एनआरटीसँग १-१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ ।
पाँचौं खेलमा अंक जोडेपछि पुलिसका मुख्य प्रशिक्षक चेत कुमार घिमिरेले यस अंकले खेलाडीमा हौसला मिलेको बताए ।
'जितकै लागि खेलेका हौँ । एक अंक आयो । खुशी छौँ,' उनले भने, 'यस अंकले खेलाडीमा हौसला मिलेको छ । लिगमा अब केहि समय विश्राम पनि छ ।'
प्रशिक्षक घिमिरेले लिगमा शीर्ष ८ मा रहने लक्ष्य टिमको रहेको बताए ।
'हाम्रो लक्ष्य शीर्ष ८ हो । गल्तिहरुलाई लिगको ग्यापमा सुधार गर्छौं,' उनले थपे,' हामीले ४ खेलमा आफ्नै गल्तीमा गोल खायौं । आज पनि त्यहि भयो ।'
घिमिरेले नयाँ खेलाडीमा अनुभवको कमी देखिएको कारण जुमानु राई, सुमन सुवेदीजस्ता भेट्रान खेलाडीलाई मैदान उतारेको बताए ।
अनुभवी खेलाडी मैदान प्रवेश गरेपछि नयाँ खेलाडीमा हौसला मिल्ने समेत उनले बताए ।