काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो अंक जोडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार न्युरोड टिम एनआरटीसँग १-१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ ।
पुलिसले एक गोलको अग्रता उल्टाएर एनआरटीसँग बराबरी खेलेको हो । यस अघि पुलिसले लगातार चार खेलमा हार व्यहोरेको थियो ।
रोमान्चक खेलमा दुबै गोल दोस्रो हाफमा निस्किएको थियो ।
खेलको ६४ औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
एनआरटी र पुलिसका डिफेन्डरबीच डिफ्लेक्ट हुँदै आएको बल पुलिसका गोलकिपर संजित श्रेष्ठले क्लियर गर्न नसकेको बललाई सन्जिबले पोस्टको जाली चुमाए ।
तर, खेलको ७५ औं मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । उनले खेलको ७५ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे ।
त्यसबाहेक दुबै टोलीले पाएको केहि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको १८ औं मिनेटमा एनआरटीका लालनुनजामाको सशक्त प्रहारले पोस्टको दिशा लिन सकेन ।
२० औं मिनेटमा निकोलस सङको क्रसमा दिपेश आले मगरको हेडर पोस्टमा लाग्दै बाहिरिदा एनआरटीले अग्रता लिने मौका गुमाएको थियो ।
पुलिसका हेम तामाङले २५ औं मिनेटमा प्रहार गरेको बल पोस्ट भन्दा माथिबाट बाहिरियो ।
३५ औं मिनेटमा पुलिसका हेमले पेनाल्टी स्पटबाट गरेको फितलो प्रहार एनआरटीका गोलकिपर पुजन होनाले सहजै आफ्नो पन्जामा पारे ।
खेलको ४३ औं मिनेटमा पुलिसका प्रताप गुरुङको फ्रिकिक पोस्ट भन्दा निकै माथिबाट बाहिरिएको थियो ।
पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ ।
एनआरटी ५ खेलमा २ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।