काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप आगामी जेठ महिनामा नेपालमा आयोजना हुने भएको छ ।
नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलनबाट काभा महिला च्यालेन्ज कप जेठ ६ देखि १५ गतेसम्म आयोजना हुने जनाएको छ ।
संघले प्रतियोगिताको लोगो समेत सार्वजनिक गरेको छ ।
त्रिपुरेश्वरस्थिति राखेपको कर्भड हलमा आयोजना हुने सो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ ।
प्रतियोगितामा बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र आयोजक नेपालको सहभागीता रहने छ ।
प्रतियोगिताको आयोजनाको खर्च अनुमानीत २ करोड ५० लाख रहेको संघले बताएको छ । प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ५० लाख सहयोग गर्नेछ ।
प्रतियोगिता आयोजनाका लागि केही समय अघि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
थाईल्याण्डको बैंककमा आयोजित काभाको बैठक दौरान सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
प्रतियोगिताका लागि नेपालले महिला टिमको प्रशिक्षण सुरु गरिसकेको छ ।
मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्टको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।